Logo

सडक सुरक्षा र ट्राफिक सप्ताहका ७ दिन : २२ प्रतिशतले दुर्घटना घट्यो

सडक सुरक्षा र ट्राफिक सप्ताहका ७ दिन : २२ प्रतिशतले दुर्घटना घट्यो

काठमाडौँ । सचेतनामूलक कार्यक्रमका कारण ७ दिनको अवधिमा २२ प्रतिशतले सवारी दुर्घटनाका घटनामा कमी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा असोज १४ गतेदेखि सुरु गरिएको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमको प्रभावका विषयमा जानकारी गराउँदै तथ्याङ्क प्रस्तुत गरिएको हो । सडक अनुशासन उलङ्घन गर्ने चालकलाई कारवाही गर्दा गएको बर्ष १ अर्व ८८ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । अनुशासन उलंङ्घन गर्ने तर कारवाहीमा नपर्नेहरुको संख्या बराबरी छ । सडक दुर्घटनामा दैनिक ७ जनासम्मले ज्यान गुमाइरहेका छन् । १५ जनासम्म गम्भीर घाइते हुन्छन् । यो तथ्याङ्कले मानवीय क्षति कम गराउन अझै धेरै प्रयत्नको खाँचो देखाउँछ । 

सप्ताहको अन्तिम दिन आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सडक सुरक्षाका लागि प्रविधि जडान (सीसीटिभी) का लागि नेपाल प्रहरीसँग र रातमा सडकलाई उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेर ३ महिनाभित्र नतिजा देखिने गरी काम थालिएको जानकारी दिनुभयो । ‘सडक तथा सवारी आवागमन व्यवस्थापन वहुपक्षीय क्षेत्र हो । त्यसैले अपेक्षित उपलब्धीका लागि साझेदार सबैले समान रुपमा दायित्व निर्वाह गर्नुपर्छ ।’

त्यस क्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, सवारी साधनका उत्पादक, लगानीकर्ता, व्यवस्थापन गर्ने कार्यालय, प्रहरी, लगानीकर्ता, चालक, सहचालक, कर्मचारी, निर्माण व्यवसायीलगायत दर्जनभन्दा धेरै संघ संस्थाहरुको दायित्वबाट सडक सुरक्षा कायम गराउन सकिने बताउनुभयो । यसमा यात्रुको आचरण उत्तिकै जिम्मेवार छ । धेरै व्यक्तिबाट प्रणाली चलाउनु पर्दा दोष लगाउने ठाउँ भेटिन्छन् । यसमा दोष देखाएर होइन, जिम्मेवारी लिएर काम गर्नुपर्छ । उहाँको भनाइ थियो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘१४ वटा नाकाबाट काठमाडौँ महानगरपालिका क्षेत्रमा सवारी साधन भित्रिन्छन् । कतिपय यातायात व्यवसायीले नाकाकै छेउमा बसपार्कको माग गर्नुहुन्छ । यो मनोविज्ञानलाई रुपान्तरण गरेर आफूलाई अनुकुल हुनेभन्दा सहरी व्यवस्थापनमा योगदान हुने सोच राख्नुपर्छ ।’ यसको संयोजन तथा सवारी आवागमन व्यवस्थापनको काम अब, संघीय राजधानीको यातायात प्राधिकरणले गर्छ । उहाँको भनाइ थियो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक दिपक थापाले, ७ दिनमा औसतमा २३८ वटा सवारी दुर्घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कम गराउन संयुक्त प्रयास चाहिएको बताउनुभयो । 

वार्षिक ९ लाखभन्दा धेरै सवारी चालक कारवाहीमा पर्ने गरेका छन् । एउटै व्यक्ति २ सय पटकभन्दा धेरै कारवाहीमा परेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले अवस्थाका विषयमा जानकारी दिँदै भन्नुभयो, कारवाहीभन्दा पनि दायित्व बोध गर्ने वातावरण चाहिएको छ । 

कार्यक्रममा व्यङ्ग्य कलाकार मनोज गजुरेलले, मनलाई स्थिर र नियन्त्रण गर्न सके दुर्घटनामा कमी हुने बताउँदै, मनको जाम खोल्न सके सडकको जाम खोल्न सकिने तर्क राख्नुभयो । 

नेपालमा भएका सार्वजनिक सवारी साधनमा सरकारको कुनै पनि लगानी छैन । आफ्नो संयन्त्र पनि छैन । यसमा मध्यम वर्गका नेपालीहरुको लगानी छ । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले, देशभर ४ लाख सार्वजनिक यातायातका रुपमा प्रयोग हुने सवारी साधन भएको, यसमा १५ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी दिएको, यसमा ४० लाख व्यक्ति आश्रित परिवारका रुपमा रहेको उल्लेख गर्नुंभयो । हामीलाई लगानीको सुरक्षा र श्रमको सम्मान चाहिएको छ । त्यो सरकारले दिनुपर्छ । स्वाँरले, भन्नुभयो, ‘हामी हाम्रो कमजोरी सुधार गर्छौँ । सरकारले उचित वातावरण मिलाइदिनु पर्छ ।’

सप्ताहव्यापी कार्यक्रमको थालनी असोज १४ गते दरबार मार्गबाट भएको थियो । यसदिन उपत्यकाका २२ ठाउँबाट प्रभातफेरी निकालिएको थियो । दरबार मार्गको प्रभातफेरीमा गृहमन्त्री नायारणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवरसहित सरोकारवाला अधिकारी सहभागी हुनुभएको थियो । प्रभातफेरी घण्टाघर, रत्नपार्कको पैदल मार्ग, जेब्रा क्रसिङ् र आकाशे पुलको प्रयोग गरेर राष्ट्रिय सभा गृह पुगेको थियो । 

सप्ताहव्यापी कार्यक्रममा प्रयोगकर्तालाई सडक अनुशासन र सडक सुरक्षाका विषयमा सचेत गराइएको थियो । यसका लागि ५ हजार २६५ जना स्वयम्सेवक खटिनुभएको थियो । २ हजार ५६० जनालाई प्रशिक्षण दिइएको थियो भने ८६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चालकहरुसँग चिया कार्यक्रम, सडकको सरसफाइ लगायत कार्यक्रम गरिएको थियो । 

अनुमान योग्य, विश्वाश योग्य र सुृरक्षित यात्रा निश्चित गर्नु, दुर्घटनामा कमी ल्याउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य थियो । 

समापन अवसरमा कार्यक्रमलाई सहयोग गर्ने, ११ वटा संघ संस्था, ७ जना चालक परिचालक, ३ जना महानगर प्रहरी बलका अधिकारी, ५ जना ट्राफिक प्रहरीलाई प्रशंशा पत्रबाट सम्मानित गरिएको थियो । महानगर प्रहरी बलकातर्फबाट नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्ले, नगर प्रहरी नायव निरीक्षक हुर्मतबहादुर पुन र नगर प्रहरी हवल्दार वविताकुमारी शाह सम्मानित हुनुभएको हो ।  

बढ्दो सहरीकरण र जनघनत्वको अनुपातमा सडक पूर्वाधार, स्वचालित संकेत बत्ती, सडक चिन्ह, सडक पेटी सडक सुरक्षाका सूचकहरु हुन् । सडक क्षेत्रबाट वितरण हुने खानेपानी, ढल निकास, विजुली, टेलिफोन, इन्टरनेटलगायत सुविधा प्रणाली, पूर्वाधारको नियमित मर्मत सम्भार, सवारी साधनमा यान्त्रिक अवस्थाको नियमित जाँच तथा मर्मत, पैदल मार्गको प्रयोग, सडक बत्ती, आवागमनको निगरानी गर्न सीसीटिभीजस्ता प्रविधिको प्रयोग सुरक्षासँग जोडिएका छन् । यस्तै सवारी साधन सञ्चालन गर्ने र सडकमा पैदल हिँड्ने व्यक्तिको आचरण पनि सुरक्षासँग जोडिएका महत्वपूर्ण पक्ष हुन् । यान्त्रिक गडबडी, जोखिमपूर्ण पूर्वाधार र मानवीय लापर्वाही दुर्घटनाका मुख्य कारण हुन् । 

एउटा क्षेत्रको व्यवस्थापनमा धेरै निकाय हुँदा एउटाले अर्कालाई गाली गर्ने आचरण देखिएपछि सवारी व्यवस्थापनलाई एकीकृत गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरण गठन भइसकेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सार्वजनिक यातायात परिषद गठन भइसकेको छ । 

सडक पूर्वाधार, प्रणाली विकास तथा व्यवस्थापनका लागि यस बर्ष महानगरपालिकाले ३४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । विद्यालय उमेरका बालबालिकालाई ट्राफिक सचेतना बढाउन सामुदायिक विद्यालयहरुमा ‘ट्राफिक क्लव’ गठन गरेको छ । उनीहरुलाई सडक अनुशासन, संकेत र आचरणका विषयमा प्रयोगात्मक ज्ञान दिने गरिएको छ । 

देशभरि करिब ६३ लाख सवारी साधन दर्ता भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकाभित्र करिब १४ लाख सवारी साधन छन् । गएको ५ बर्षमा सवारी दुर्घटनामा परेर करिब १२ हजार व्यक्तिको मृत्यु भएको छ । यसमध्ये करिब १ हजार व्यक्तिले काठमाडौँ उपत्यकाभित्र ज्यान गुमाएका छन् । गएको बर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय बढी व्यक्तिको ज्यान गयो । 

 

  • प्रकाशित मिति: शुक्रबार​ १९ असोज २०८० २१:०६