सामुदायिक कुकुर र बिरालालाई मंगलबारबाट बन्ध्याकरण र खोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असोज २३ गते मंगलबारबाट सामुदायिक कुकुर र बिरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्दैछ । पहिलो चरणमा वडा नं. ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्नेछ ।
कार्यक्रमका लागि गएको भदौ २७ को सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा छानिएका छन् । छानिएका संघसंस्था हरेकलाई उनीहरुले छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाकाअनुसार, वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।
डा. झाले कार्यक्रमको लक्ष्यका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ ।’ कार्यक्रममा यस अघि बन्ध्याकरण गरिएकालाई खोप दिएनेछ । यसरी सेवा दिने संघ संस्थाले एउटालाई बन्ध्याकरण गरेर खोप दिएवापत २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । खोप मात्र दिएकोमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यक्रम सञ्चालन विधि
तोकिएका संघसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र विराला समाउनेछन् । यसरी समातिएका कुकुर विरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरणका त्यसको उपचारसँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर विरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरुमा वडाबाट शिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका सम्लग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह हुनेछ ।
यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरण सकिएको वडाबाट शिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/बिराला बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ ।
कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने संघ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर बिरालाको व्यवस्थापनलगायत विषय समावेश छन् ।
यस पटकको सूचनाबाट १३ वटा संघसंस्थाले सहकार्यका लागि आवेदन दिएका थिए । जसमध्ये ७० भन्दा माथि अङ्क प्राप्त गर्ने ९ वटा छनोट गरिएको हो ।
यसको मूल्याङ्कनका लागि प्रस्तावसहितको निवेदनका लागि १० अङ्क, अद्यावधिक कागजपत्रका लागि ५ अङ्क, महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत पत्रका लागि १० अङ्क, यस अघि काम गरेको अनुभवलाई १५ अङ्क, पशु चिकित्सकसँग सम्बन्धित कागजपत्रलाई २० अङ्क, पशु ओसारपसार गर्ने सवारी साधनको उपलब्धतालाई १० अङ्क राखिएको छ । सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको कागजात वा भाडामा भए सम्झौता पत्रलाई १० अङ्क, बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्थालाई १० अङ्क र कुकुर विरालो समात्ने जनशक्तिलाई १० अङ्कमा दिइएको छ ।