आजबाट स्थायी काञ्जी हाउस सञ्चालनमा : पशु कल्याणका लागि नयाँ काम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका प्रहरीहरुले बाच्छाबाच्छी संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पु¥याएका छन् ।
काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन् । यस्ता वेवारिसे चौपायाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पूरा गर्दै महानगरपालिकाले काम थालेको हो ।
सडकमा भोक लाग्दा खान नपाउने, तिर्खा लागेका बेला पानी नपाउने, रोग लाग्दा उपचार नपाउने चौपायाले अव यस्तो करुण अवस्था भोग्नु पर्दैन । सवारी दुर्घटनाको जोखिममा पर्नु पर्दैन ।
चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । हेरचाह गर्न स्थानीय २ जनालाई दैनिक ज्यालादारीमा जिम्मेवारी दिइएको छ ।
यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो ।
सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोविड लगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो ।
यस ठाउँमा १२६ रोपनी जमिन छ । यो जमिनमा चौपाया पालनका लागि डाले तथा भुइँ घाँस लगाउन र क्षेत्र बारेर चरन बनाउन सकिनेछ ।