Logo

ताजा अपडेट

METRO FM

सांस्कृतिक, आर्थिक र सामाजिक उत्थानका कार्यक्रमको सन्तुलनमा वडाको जोड

सांस्कृतिक, आर्थिक र सामाजिक उत्थानका कार्यक्रमको सन्तुलनमा वडाको जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले पूर्वाधार सुधारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका कार्यक्रमलाई सन्तुलित रुपमा सञ्चालन गरेको जनाएको छ । आज वडामा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले गएको साउनदेखि पुस मसान्तसम्म भए गरेका कामको प्रगतिका विषयमा जानकारी गराउँदै यस्तो बताउनुभएको हो । 

यो वडामा आवासीय क्षेत्रभन्दा धेरै सम्पदा क्षेत्र छन् । जीवित देबी कुमारीको बासस्थान यही वडामा छ । नेवार समुदायको बाहुल्यता रहेको वडाको पूर्वमा वडा नं. २२, पश्चिममा वडा नं. २०, उत्तरमा वडा नं. २४ र दक्षिणमा वडा नं. २१ छन् । वडामा लगभग ७२० घरधुरी छन् । जनसंख्या १० हजार भएको अनुमान गरिएको छ । 

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा वडाले पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत ४४ वटा योजना कार्यान्वयनमा ल्याएको छ । यो संख्या सम्पन्न र निर्माणाधीन योजनासमेतको हो । सडक, गल्ली, चोकमा ढुङ्गा छाप्ने, ढल राख्ने, फल्चा, क्वापा, मन्दिर, त्वाछेँजस्ता सांस्कृतिक संरचनाको मर्मत सुधार, पानी ट््याङ्कीलगायत सुविधा वितरण प्रणाली पूर्वाधार सुधार कार्यक्रममा समेटिएका छन् । 

अनुदान सहायता शीर्षकबाट ३८ वटा कार्यक्रम भएका छन् । क्षमता विकास तालिम, जात्रा पर्व सञ्चालन, खेलकुदका कार्यक्रम, विशेष सरसफाइ र सौन्दर्य वृद्धि कार्यक्रम, खुला स्थानमा व्यायामका सामान राख्ने, परम्परागत सांस्कृतिक सिप प्रशिक्षणजस्ता कार्यमा यस शीर्षकबाट खर्च भएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । सहरी स्वास्थ्य क्लिनिक सञ्चालन, स्वास्थ्य उपकरण र औषधि खरिद गर्ने काम पनि यही शीर्षकबाट भएको छ । 

सामाजिक विकास कार्यक्रमअन्तर्गत सामाजिक संघ संस्थाहरुको क्षमता विकास कार्यक्रम भएको छ । यसमा त्वाः गुठी, समाज, संस्था, गृह, क्लव, दबु लगायत संघसंस्थाका ३३ जना पदाधिकारीलाई सहभागी गराइएको छ । २० जना युवालाई अन्तरराष्ट्रिय बजारमा स्थानीय उत्पादनको प्रबर्धन विषयक आर्थिक क्षमता विकास तालिम दिइएको छ । सांस्कृतिक बाजा र परम्परा संरक्षण गर्न ८ वटा गुठी खल हरेकलाई ५ लाख रुपैयाँका कार्यक्रम उपलब्ध गराइएको छ । धा बाजा, ढोलक, बाँसुरी, नाय खिँलगायत बाद्य प्रशिक्षण हुनेछ । 

एम.डी.डाक्टर र प्याथोलोजी ल्याव सहितको सहरी स्वास्थ्य प्रबर्धन केन्द्र स्थापना गर्न झोँछेमा ४ तलाको भवन भाडामा लिइसकिएको छ । सांस्कृतिक उत्थानका लागि गुठी खललाई विशेष बजेटको व्यवस्था गरिएको छ । वडाध्यक्ष महर्जन भन्नुहुन्छ, ‘सांस्कृतिक सहर काठमाडौँ महानगर’ भन्ने नारालाई साकार बनाउन यसप्रकार विशेष बजेटको व्यवस्था गरिएको हो ।’

सामुदायिक सिकाई केन्द्र मार्फत ३० जना युवाहरुलाई फोटोग्राफी तालिम दिने, बेरोजगार महिला लक्षित सवारी चालक तालिम प्रदान गर्ने, शिशु स्याहारका लागि ताािलम दिने, युवाहरुलाई कफी बनाउने, कुकिज बनाउने तालिमको दिने वडाको योजना छ । यी कार्यक्रमबाट १३० जना युवा तथा महिलाहरुलाई आर्थिक विकास तथा स्वरोजगार बन्नमा सहयोग पुग्ने अपेक्षा छ । कोसेली घर सञ्चालन गरेर घरेलु उत्पादनलाई प्रोत्साहनगर्न वडाले बजेट व्यवस्था गरेको छ । 

सम्पदाहरुको अभिलेखन गरेर पर्यटन प्रवर्धन तथा व्यवस्थापन गर्ने, ऐतिहासिक परम्परादेखि चलि आएका टोल, वहा, बहीको नाम सहितको परिचय बोर्ड राख्ने योजना छ । 

बालमैत्री शिक्षा, शान्ति सुरक्षा, सरसफाइ, स्वस्थ्य वडाका लागि व्यायाम स्थलको निर्माण र सञ्चालन वडाका आगामी योजना हुन् । 

सहभागीको सुझाव
भित्री वडाहरु विपदका दृष्टिले जोखिममा पर्दै गएको जनाउँदै सहभागीहरुले विपद क्षति व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न तथा विशेष पूर्वाधार निर्माण गर्न सुझाव दिनुभएको छ । यस्तै सार्वजनिक जग्गाको संरक्षण, खुला ठाउँको संरक्षण, पार्किङ्गको सहज उपलब्धता, सम्पदाको संरक्षणमा विशेष कार्यक्रम सञ्चालनका लागि सुझाव प्राप्त भएका छन् ।