जय बागेश्वरीमा परम्परागत सामुहिक वादन तथा नृत्य - ग्वलः अर्केष्ट्रा सम्पन्न
काठमाडौँ । आज जय बागेश्वरीमा परम्परागत बाद्यवादनको सामुहिक प्रस्तुति ‘ग्वलः अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वलः बाजँ खलःले संयुक्त आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो ।
अर्केष्ट्रामा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहले सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा बजाइने धिमे (ठूलो/सानो), पछिमा, खिँ, क्वचा खिँ, नय खिँ, धाः, मादल, पोङ्गा, बाँसुरी (घोर/मझवाल/तिप चाः) लगायत बाजागाजाका धुन प्रस्तुत गरे । यस्तै भुस्या, छुस्या, ता, बबैचा, चिम्टा, घाङ्गल, ताइनादे चाः का विभिन्न बोल, धुन र ताल बजाइएका थिए । यस्तै अहिले चलेका विभिन्न गीतका धुन पनि बजाइएको थियो ।
यसरी बजाइएका बोल तथा तालमा लाखे नाच, रोपाइँ जात्रा, खड्ग जात्रा, दाफा भजन प्रस्तुत गरिएको थियो । छालाबाट बनेका र धातुका बाजाहरु नेवार समुदायभित्र प्रचलित छन् ।
कार्यक्रममा राजेश संगतले लेख्नुभएको धिमे बोल लिपी ‘धिम्य या बोल’ पुस्तक सार्वजनिक गरियो ।
त्यस क्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काठमाडौँको चिनारी भनेकै टोल, मठमन्दिर, जात्रा पर्वसँग सम्बन्धित आफ्नाआफ्ना बाजागाजा हुनु, वाद्य शैली राग तथा ताल हुनु हो । यो मौलिकपन संसारभर विरलै पाइन्छ । परम्परागत बाद्यबादनमा युवा पुस्तालाई आकर्षित गराउन र पुस्तान्तरण गराउन वडाले थालेको प्रयास सराहनीय छ ।’ उहाँले पुस्तकमाथि चर्चा गर्दै भन्नुभयो, ‘जनश्रुति र कथ्य माध्यमबाट पुस्तान्तरण हुने गरेको हाम्रो मौलिक परम्परा अब अभिलेखनबाट पुस्तामा सार्न थालिएको छ । यो महत्वपूर्ण काम हो ।’
कार्यक्रमका संयोजक, वडा नंं ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाको पूर्वी क्षेत्रलाई ग्वलःको देश (ग्वलः दे) भन्न रुचाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो थालनी हरेक वडा वडामा विस्तार हुने आशा लिएको छु । यसबाट अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्छ भने पर्यटन प्रवर्धनका लागि योगदान हुन्छ ।’
ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित थिए । बाद्यवादनसँगै कार्यक्रममा श्री गुरु नित्यनाथ बाजः खल, नर थतुत्वा नास खल र ग्वल बाज खलले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय मौलिक खाना तथा परिकारहरुका स्टलहरु राखिएका थिए ।
परम्परागत बाजागाजाका बाद्य शैलीमा युवा पुस्तालाई सहभागी गराउने, संरक्षण र प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संघीय तथा प्रदेश सभाका सदस्यहरु, काठमाडौँ महानगरपालिकाका वडाध्यक्ष, कार्यापालिका सदस्य एंवं नगर सभा सदस्यहरु, कर्मचारी, स्थानीयसहित दर्शकहरुको उल्लेख्य सहभागिता थियो ।