Logo
  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • इ.स.: 2026 September 19,SATURDAY

  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • काठमाडौँका स्थानीय उत्पादन, अन्तरराष्ट्रिय बजारको पहुँचमा लैजान लगानी गरिरहेका छौँ - उपप्रमुख डंगोल

    काठमाडौँका स्थानीय उत्पादन, अन्तरराष्ट्रिय बजारको पहुँचमा लैजान लगानी गरिरहेका छौँ - उपप्रमुख डंगोल

    काठमाडौँ । वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपत योग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वडा नं. २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिमको समापन अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तालिम गएको पुस २१ गतेदेखि हरेक शनिवार प्रशिक्षण चल्दै आएको थियो ।   

    ‘उद्यमशील तालिम क्षमता बढाउन लागि मात्र होइन । व्यापार बढाउने सञ्जाल विकास गर्न, बजारीकरण सिप बढाउन र आय वृद्धिका लागि पनि हो ।’ उहाँले भन्नुभयो, ‘तालिमबाट प्राप्त गरेको ज्ञान र सिपलाई निरन्तर अभ्यास गरेर उत्पादनको मात्रा र स्तरमा सुधार हुनेछ । विक्रीमा वृद्धि भएर आय थपिनेछ । महानगरपालिकाको लगानी यसका लागि हो ।’ 

    स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी ज्ञान र सिप दिएर निर्यातमा प्रोत्साहन गर्न तालिम चलाइएको थियो । 

    ‘वेकरी, कफी बनाउने, फोटोग्राफीसहित सिपमुलक तालिमसँगै चालु आर्थिक बर्षभित्र हामी कोसेली घर बनाउँछौँ । वडास्तरीय उद्यमी मेला गरेर उत्पादनको सम्भावना पत्ता लगाउँछौँ ।’ वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले भन्नुभयो, ‘हामीले प्रदान गर्ने सिपमूलक तालिमबाट गुणस्तरीय उत्पादन बृद्धि हुने, रोजगारी सिर्जना हुने अपेक्षा गरेका छौँ ।’

    तालिमका सहभागीहरुले अभिभावकको व्यापारमा सहयोग गर्न, आफैँ व्यापारी बन्न, लगानीकर्ताहरु मिलेर व्यापार गर्न तालिममा सहभागी भएको र तालिम जीवन उपयोगी भएको धारणा राख्नुभयो । 

    तालिममा बजारको मागका विषयमा जानकारीतथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सिप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सिप सिकाइएको थियो । 

     

  • प्रकाशित मिति शनिबार १२ फागुन २०८० ०८:५१ PM