तोकिएको जिम्मेवारीमा उत्साहित भएर काम गर्न प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कर्मचारीहरुलाई प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ प्लाजामा अधिकृत स्तरका (छैटौँ, सातौँ र आठौँ तह) कर्मचारीहरुसँग छलफल गर्दै भन्नुभयो, ‘यहाँहरुको सक्रियताले महानरपालिकाले लक्षित कार्यक्रममा नतिजा प्राप्त गर्न सक्छ । महानगरपालिकाले लिएका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा तपाईँ उत्साहित बन्नुहोस् । तपाईँहरुको प्रोत्साहनका लागि हामी काम गर्नेछौँ ।’
स्वीकृत कार्यक्रम कार्यान्वयनमा अधिकृत स्तरका कर्मचारीहरुको प्रधान भूमिका हुन्छ । यहाँहरुकै कारण नतिजा आउने हो । जुनियर र सिनियरसँगको समन्वयबाट आफ्नो दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएको छ । उहाँको भनाइ थियो ।
त्यस अवसरमा प्रमुखको सचिवालय सदस्य सुदीप ढकालले, महानगर गौरव र स्वर्णिम योजनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । नागरिकका सरोकारका विषयमा महसुस योग्य नतिजाका लागि यी कार्यक्रम कार्यान्वयनमा ल्याइएका हुन् । सामुहिक प्रयत्नबाट यी कार्यक्रमबाट नतिजा निकालौँ । उहाँको भनाइ थियो ।
छलफलमा गौरव तथा स्वर्णिम योजनालाई प्राथमिकताका भित्रका प्राथमिक कार्यक्रमका रुपमा कार्यान्वयनमा लैजाने, कार्य प्रणाली सुधार, सेवा प्रदायक र सेवाग्राहीको सम्बन्ध लगायत विषय समेटिएका थिए ।