Logo

ताजा अपडेट

METRO FM

७ वटा कानुनी प्रबन्ध संशोधनसहित पारित : ३ वटा कानुनी प्रवन्ध तर्जुमा गर्न सैद्धान्तिक सहमति

७ वटा कानुनी प्रबन्ध संशोधनसहित पारित : ३ वटा कानुनी प्रवन्ध तर्जुमा गर्न सैद्धान्तिक सहमति


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको ३० औँ कार्यपालिका बैठकले ७ वटा कानुनी प्रबन्धहरु संशोधनसहित पारित गरेको छ । विधायन समितिका संयोजक मचाराजा महर्जनले बैठकमा पेश यस सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । 

३० औँ कार्यपालिका बैठकको पूरा भाग श्रव्यदृश्यमा हेर्न यहाँ भिडियो उपलब्ध छ । 

संशोधनसहित पारित भएका कानुनी प्रबन्धहरुमा ४ वटा कार्यविधि छन् । ‘भवन निर्माण सम्बन्धी कार्यविधि, २०८०’, ‘कानुनी सहायता सम्बन्धी कार्यविधि, २०८०’, ‘महानगर शिक्षा विकास कोष सञ्चालन कार्यविधि, २०८०’, ‘एकल सेवा केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०८०’ छन् । यस्तै ‘कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी मापदण्ड, २०८०’ पारित भएको छ । ‘सेवा करारका कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९’ को पहिलो संशोधन र ‘खरिद नियमावली २०७९’ को पहिलो संशोधन बैठकबाट पारित भएको हो ।    

बैठकले, ‘सुलभ फार्मेसी सञ्चालन सम्बन्धी कार्यविधि, २०८०’, ‘सार्वजनिक निजी साझेदारी तथा निजी लगानी सम्बन्धी नियमावली २०८०’ र ‘साथी महानगर सञ्चालन कार्यविधि, २०८०’ तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

बैठकले २०६४ साल अघि करार सेवामा प्रवेश गरेका जनशक्तिको स्थायी सेवाका लागि नेपाल सरकारका सेवा निवृत्त सचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा पदपूर्ति समिति गठन गर्ने निर्णय ग¥यो । सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यस सम्बन्धी प्रस्ताव राख्नुभएको थियो । बैठकले समितिको सदस्य तोक्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ । 

बैठकका उपाध्यक्ष सुनिता डंगोलले, आगामी कार्यपालिका बैठकको सुरुमा अघिल्लो बैठकले गरेका निर्णयको समीक्षा गर्ने प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । 

बैठकमा राजस्व समितिका संयोजक नवराज पराजुलीले सम्पत्ति कर, वहाल कर र व्यवसाय करको वडा स्तरीय अनुगमन कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव राख्नुभएको थियो । वित्त समितिका संयोजक ईश्वरमान डंगोलले, उपभोक्ताहरुले तिर्ने दोहोरो मूल्य अभिवृद्धि कर फिर्ता सम्बन्धी विषयमा विज्ञ समूहबाट परामर्श लिएपछि मात्र निर्णयमा पुग्न उपयुक्त हुने भएको जनाउँदै अर्को बैठकमा प्रस्ताव पेश गर्ने अनुमति माग गर्नुभएको थियो । 

विद्यालयहरुमा सेनिटरी प्याड खरिदका लागि रकम निकासा गर्ने सम्बन्धमा शिक्षा तथा स्वास्थ्य समितिकातर्फबाट शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले प्रस्ताव राख्नुभएको थियो । नेपाल सरकारबाट सशर्त प्राप्त भएको यस शीर्षकको रकम विद्यालयको खातामा पठाउने निर्णय भएको छ । विभिन्न पालिकाहरुलाई उपलब्ध गराउन लागिएको एम्बुलेन्स आयात गर्ने सम्बन्धमा थप छलफल गर्नु पर्ने भएकोले यसलाई अर्को बैठकमा पेश गर्ने निर्णय भएको छ । 

बैठकका प्रस्तावहरुमा, प्रवक्ता नविन मानन्धर,वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सामाजिक समितिका संयोजक रामकुमार के. सी., कार्यपालिका सदस्यहरु उदयचुडामणि बज्राचार्य, सरोज ढकाल, विमलकुमार होडा, राजेन्द्रकुमार श्रेष्ठ. र बीरेन्द्र प्रजापतीले धारणा राख्नुभएको थियो ।   
   

तस्विर : विनय शाक्य