माटोको सट्टा गिट्टी राखेर फेरि पाइप लाइन बिछ्याउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । भोटाहिटीबाट असनतर्फको सडक खण्ड (सिद्धिदास मार्ग) मा पानी वितरण प्रणालीका लागि पाइप बिछ्याएर परिएको ठाउँमा भासिने खालको माटो देखिएपछि यस्तो माटो निकालेर गिटी राख्न महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशन दिनुभएको छ । आज योजना अनुगमन गर्दै उहाँले, थलथले माटोका कारण पाइप लाइनलाई अस्थिर हुने, यसैकारण पाइप फुट्ने र पानी चुहिने जोखिम रहेको बताउँदै, यस्तो माटो निकालेर गिटी राख्न र सेतो मच्छिन्द्रनाथको रथयात्रा अगावै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । ‘काम छिटो गर्ने नाममा गुणस्तरमा कुनै पनि खालको सम्झौता हुँदैन ।’ उहाँले इञ्जिनियरहरुलाई भन्नुभयो, ‘बिग्रेको अवस्था सुधार गर्ने प्रक्रियामा यहाँहरुको निगरानी अपरिहार्य हुृन्छ । यसलाई हेर्नुहोला ।’
सेतो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन यही मार्गबाट रथ तानेर असन लगिन्छ ।
अनुगमनका क्रममा वडा २७ का अध्यक्ष योगेश खड्गीले भन्नुभयो, ‘पाइप पुर्ने क्रममा समस्या देखिएको छ । यसलाई सुधार नगरी सुखै छैन ।’ यो अवस्थालाई सिकाइका रुपमा लिन सुझाव दिँदै उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माण अघि, निर्माण भइरहेको अवधि र निर्माण सम्पन्न हुने समय गरी ३ पटक हरेक योजनाको अनुगमन गर्नु पर्छ । यति गर्न सकिएन भने गुणस्तरमा कहीँ न कहीँ ठगी भइहाल्छ ।’
आज नै वडा नं. ६ रामहिटीमा रहेको साहित्य सदन भवनको पनि अनुगमन गरिएको छ । महानगरपालिकाको आर्थिक सहयोगमा साहित्य सदन परिसरमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको छ । यो भवन हस्तान्तरण गर्न र सम्झौताबमोजिमको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
१ तला भूमिगतसहित भवन साढे तला तलाको छ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण भएको हो । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयोग गरिनेछ । दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । भवनमा करिब ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष छ ।
महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका क्षेत्रफलका छन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुट क्षेत्रफलका छन् । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुट छ ।
भवनमा ६ जना अट्ने लिफ्ट जडान भएको छ ।
भवन २०७८ भदौ मसान्तसम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो । यसको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ हो । भवन सुनकोशी प्रजिल जे. भी. ले गरेको हो ।
योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीकाअनुसार आज नै वडा नं. ६ को बौद्ध समाज केन्द्र भवनको पनि अनुगमन गरिएको छ । उहाँकाअनुसार अहिलेसम्म १० वटा ठूला योजनाको अनुगमन भइसकेको छ । यीमध्ये महानगरपालिकाले उपलब्ध गराएको रकमबाट निर्माण हुने भवनको प्रयोग र व्यवस्थापनका लागि छुट्टै नीति चाहिएको छ । एकाइले यो विषयमा काम गर्नेछ । लामिछाने सुवेदीले योजना सुनाउनुभयो ।
अनुगमनका लागि समितिका सदस्यहरुसँगै सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, वडाका जनप्रतिनिधिसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।