वि.सं.: २०८२, वैशाख २७ शनिबार
इ.स.: 2025 May 10,SATURDAY
वि.सं.: २०८२, वैशाख २७ शनिबार
२ हजार ८१ जनालाई निःशुल्क दिइने ‘सिपमूलक तालिम’ भोलिबाट सुरु
काठमाडौँ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले भोलि (वैशाख १९) गते विश्व मजदुर दिवसको अवसरमा पारेर तालिम कार्यक्रम थालनी गर्दैछ । ‘सिप मेला २०८१’ नामबाट सञ्चालन हुने तालिमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा ठूलो खाडल रहेको उल्लेख गर्दै, रोजगारदातालाई सिपयुक्त जनशक्ति उपलब्ध हुने, युवाहरुलाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरणका लागि सिपमूलक तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम थालनी गर्दैछौँ ।’
कार्यक्रममा महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले, तालिम तालिकाका बारेमा बारेमा जानकारी गराउँदै तालिम गराउन इच्छा भएका तर अनलाइन फाराम भर्न छुटेका व्यक्तिहरु तालिम स्थलमै आएर फाराम भर्न सक्ने बताउनुभयो ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।
तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । यसरी रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर साझा नतिजाका लागि काम भइरहेको, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।
व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।
सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।
सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।
दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ ।
हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस प्रशिक्षण हुनेछ ।
सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।
मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् ।
सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्ड्रे/स मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ ।
आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।
नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ ।
दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।
तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनु हुनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ ।
तपाईँ पनि तालिम लिन इच्छुक हुनुहुन्छ भने तल दिइएको अनलाइन फाराम भर्नुहोस्