वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो ।
यसरी प्रदान गरिएका सामग्रीमा रत्नराज्य स्कूललाई एउटा स्मार्ट वोर्ड र एउटा ल्यापटप दिइयो । यस्तै रुद्रमती स्कूललाई १/१ वटा फोटोकपी मेसिन, डेस्कटप कम्प्युटर र प्रोजेक्टर प्रदान गरियो । यस्तै वुद्धनगर स्कूललाई नेपाली शव्दकोष, अंग्रेजी शव्दकोष, चार्ट पिक्चरसहित शैक्षिक र खेलकुदका सामग्री दिइएको छ ।
यस्तै भोजपुर लाखे समाजलाई पूर्वेली धिमे (ढोल, झ्याम्टा, मखुण्डो, घङ्गला, चमर) हस्तान्तरण भयो ।
अग्रज समाजलाई प्लाष्टिकका कुर्सी, टेवुल, स्पिकर र माइक, रामायण, ४ वेद, गीतासहित धार्मिक पुस्तक दिइयो । यस्तै महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्राथमिक उपचार बक्स प्रदान गरियो ।
सामग्री प्रदान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले सामाजिक उत्थानले मात्र भौतिक विकासले पूर्णता पाउने बताउँदै वडाको सन्तुलित विकासका लागि एकीकृत, समन्वयात्मक र समावेशी विकास पद्धतिलाई अबलम्बन गरिएको बताउनुभयो ।
त्यस क्रममा कांग्रेसकी नेतृ सिर्जना सिंहले, विकास कार्यक्रमलाई सबैले मिलेर सफल बनाउन आग्रह गर्दै आफ्नो भूमिकामा प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो ।
यसपछि वडाले खेल क्षेत्रलाई सहयोग गर्ने योजना बनाएको वडा सचिव सुबोध खड्काले जानकारी दिनुभयो ।