वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को प्रशासनिक भवनको उद्घाटन र पदवहालमा छँदै निधन हुनु भएका वडाका अध्यक्ष स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक एकैपटक अनावरण भएको छ । आज नवनिर्मित भवनको प्राङ्गणमा
आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन र स्व. रिजालकी पत्नी कविता आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, स्व. रिजालसँग जोडिएका स्मृति उल्लेख गर्दै, वडा भवन निर्माण गर्ने लक्ष्यमा दृढ भएकै कारण कार्यालय निर्माण हुन सकेको बताउनुभयो । उहाँको सपना साकार पार्न भौतिक संरचनाबाट प्रवाह हुने सेवालाई सरल, सहज बनाउनु पर्ने धारणा राख्दै डंगोलले, स्व. रिजालका सपना वडा कार्यालयका हरेक पर्खाल, भित्ता र अन्य संरचनामा जोडिएको बताउनुभयो ।
त्यस क्रममा बोल्दै महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, कामको उत्कृष्ट नतिजाका लागि राग, द्वेषको सट्टा आपसमा मिलेर काम गर्नु पर्ने बताउनुभयो । स्व. रिजालसँग जोडिएका स्मृतिको कुरा गर्दै उहाँले, स्व. रिजालका सपनासँग जोडिएका राम्रा कामलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
वडाका कार्यवाहक अध्यक्ष महर्जनले, स्व. रिजालसँग काम गर्दा उहाँका सोच आफूलाई जानकारी भएको बताउँदै ती सोच कार्यान्वयनमा कमी हुन नदिने बताउनुभयो ।
स्व. रिजालकी पत्नी कविता आचार्यले, रिजालले सामाजिक रुपान्तरणका लागि देख्नुभएका सपना मध्ये वडा भवन बनाउने प्रमुखमध्येको एउटा भएको बताउनुभयो । जीवन सामाजिक सेवाकै क्षेत्रमा लागेर विताउनुभयो । आफूसँगै परिवारलाई घरको काम छोडेर सामाजिक काममा लाग्न अह्राउनुहुन्थ्यो । आचार्यले भन्नुभयो, ‘उहाँको सपनासँग जोडिएको वडा भवनबाट सबै सेवाग्राही सन्तुष्ट भएर फर्किन सकुन् । यसले उहाँको आत्माले शान्ति पाउनेछ ।’
कार्यक्रममा शालिक निर्माण गर्ने महेश तुलाधर र २९ औँ महानगर दिवस २०८० मा महानगरपालिकाले आयोजना गरेको बाँसुरी वादन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने कलाकारहरुलाई सम्मान गरिएको थियो ।
२०७८ साउन ३० गते शिलान्यास भएको थियो । पूर्व प्रमुख विद्यासुन्दर, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित स्व. रिजालले जग पूजा र शिलान्यास गर्नुभएको थियो । शिलान्यासपछि बोल्दै स्व. रिजालले भन्नुभएको थियो, ‘वडा कार्यालयको डिजाइन गर्दा आजभन्दा १० पछिको अवस्थालाई आँकलन गरिएको छ । हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ । वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय हो । यसकारण वडा कार्यालन बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्छ ।’
भवन निर्माणका लागि २०७८ साउन २९ गते कायादेश दिइएको थियो । भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुला प्रतिस्पर्धाबाट गौरी पार्वती÷के एण्ड के. जी ÷ रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९.१६ प्रतिशत कम रकममा निर्माण कबोल गरेपछि निर्माणको जिम्मा पाएको थियो । इञ्जिनियर श्रेष्ठका अनुसार काम कबोल गरेभन्दा कम रकम (करिव ७ करोड रुपैयाँ) मा सम्पन्न भएको छ ।
भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको छ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता छ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हो ।
भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको छ । भित्री सुविधा आधुनिक छन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष राखिनेछ । पहिलो तलामा वडाध्यक्ष, वडासचिवसहित कर्मचारीको कक्ष हुनेछ । दोस्रो तलामा वडा सदस्य र कर्मचारीको कक्ष हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष रहेको छ ।
१ रोपनी ४ आना २ पैसा जमिनमा भवन निर्माण भएको हो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App