स्थानीय भन्छन् - डुबानबाट जोगाउनु, व्यापारी भन्छन् - पार्किङ् मिलाइ दिनु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८१/८२ को योजना माग कार्यक्रममा स्थानीयहरुले सामुदायिक विद्यालय जोडेर सुविधा बढाउन, साहित्यकार, संगीतकार र कलाकारहरुको क्रियाकलाप हुने ठाउँ बनाउन, विज्ञ समूह बनाएर आवश्यकता पहिचान गरेर योजना शिफारिस संयन्त्र बनाउन माग गर्नुभएको छ । पढ्ने संस्कृति बढाउन पुस्तकसहितको पुस्तकालयलाई निरन्तरता दिन, ठूलो ध्वनी उत्पन्न हुने व्यवसायिक क्रियाकलापबाट बस्ती जोगाउने क्रियाकलापको माग गर्नुभएको छ ।
पिचमाथि पिच भएपछि पुराना घरहरु सडक सतहभन्दा तल भए । बर्खाको पानीले घर डुबान हुने भयो । यसकारण सडकमा पिचको सतह घटाउनु पर्यो । ढलको आकार बढाउनु पर्यो । नन्दी केशर बगैँचा र नारायण चौर फरक हो । यी चौरहरुलाई नामअनुसारको स्वरुप र प्रयोगमा ल्याउनु पर्यो । स्थानीयले आफ्ना विकास माग सहित वडा नं. १ ले बनाउन लागेको सम्पदा मार्ग कस्तो हो, योजनाको विवरण माग गरेका थिए । यसमा सवारी साधन प्रवेश हुन्छ कि हुँदैन, व्यवसायिक क्रियाकलाप कसरी व्यवस्थापन हुन्छन्? स्थानीयवासीका सवारी साधन कसरी व्यवस्थापन हुन्छन्? उहाँहरुको प्रश्न थियो ।
मूर्त अमूर्त सम्पदा संरक्षण, सम्बर्धन, अभिलेखीकरण र प्रवर्धनमा वडाले काम गर्नु पर्ने स्थानीयको माग थियो ।
यस्तै व्यवसायीहरुले पार्किङ् व्यवस्थापनको अपेक्षा गरेका थिए । हामीले सडकमा पार्किङ्ग गर्न पाउनुपर्छ भनेका होइनौँ । हाम्रो भनाइ यति मात्र हो कि, वैकल्पिक स्थानका विषयमा जानकारी हुनुप¥यो ।
व्यापारीहरुले समस्या समाधानका लागि नारायण हिटी संग्रहालयको क्षेत्र, वाणिज्य वैङ्क अगाडिको ठाउँमा पार्किङ् गर्ने व्यवस्था मिलाउन सकियो भने दरबारमार्गको समस्या समाधान हुने विकल्प दिनुभयो ।
दरवार मार्गको हरियालीका विषयमा कुरा गर्दै उहाँहरुले, ठूला रुख भएका ठाउँमा साना विरुवा रोपिएको बताउँदै ठूला रुख र साना विरुवा कसरी व्यवस्थापन हुन्छन् । यसको योजना बनाउनु पर्छ ।
उहाँहरुले वहाल कर नतिरी केन्द्रीय सरकारले व्यवसायीलाई भन्सार छुट नदिएको गुनासो गर्दै भन्नुभयो, ‘जहाँ भए पनि हामीले कर तिर्ने नै हो, तिर्छौँ । यसमा आफूलाई कर नतिरेको भनेर कुनै पनि तहका सरकारले अप्ठ्यारो बनाइदिनु भएन ।’
यसरी धारणा राख्नुहुनेमा दरबारमार्ग विकास वोर्डका पदाधिकारीसहित हुनुहुन्थ्यो ।
सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘कानुन, नीति, योजना र बजेटको सीमाभित्र गर्न सकिने नागरिकको अपेक्षा पूरा गराउने बताउनुभयो ।’
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाएर यसबाट प्राप्त भएको लाभ सर्वसाधारणलाई उपलब्ध गराउने असल शासनका सूचकका आधारमा महानगरपालिकाले काम गरिरहेको छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भन्नुभयो, ‘स्वच्छ, वस्तुनिष्ठ र पारदर्शी प्रशासन सञ्चालन भएको छ । कुनै गुनासो भए फोनबाट टिपाउने व्यवस्था समेत मिलाइएको छ ।’
कार्यक्रममा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, सानो भइकन पनि वडाबाट राजस्वमा ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले सहरका ठाउँ ठाउँमा सीसीटिभीसहित शान्ति सुरक्षाका लािग प्रविधि जडान गरिरहेको बताउनुभयो । यसबाट अपराध अनुसन्धान र नियन्त्रणमा सघाउ पुगेको उहाँको भनाइ थियो ।
वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार वडा नं. १ क्षेत्रमा विकास निर्माण गर्न भन्दा विकास व्यवस्थापन गर्नमा ध्यान दिनु पर्नेछ । ‘वडाको प्रशासनिक भवन बनाउने कार्यलाई हामीले जोड दिएका छौँ । सबैको प्रयत्नबाट यो काम सम्भव हुने हाम्रो अपेक्षा छ ।’
सार्वजनिक स्थलमा सेवा प्रदायक र सेवाग्राही भेला हुने, नागरिकले सोधेका प्रश्नको सेवा प्रदायकले उत्तर दिने तथा माग गरेका कुरालाई टिपोट गरेर सम्बोधन गर्ने सार्वजनिक सुनुवाइको उद्देश्य हो । आर्थिक वर्ष २०८१/८२ का लागि योजना छनोट गर्ने समय पनि एकैपटक परेकोले सुनुवाई कार्यक्रमबाट योजना छनोट पनि गरिएको वडा सचिव पौडेलको भनाइ छ ।