Logo

ताजा अपडेट

METRO FM

विकास निर्माण र व्यवस्थापनमा भूमिका फरक तर दायित्व सबैमा समान - वडाध्यक्ष संगत 

विकास निर्माण र व्यवस्थापनमा भूमिका फरक तर दायित्व सबैमा समान - वडाध्यक्ष संगत 

काठमाडौँ । स्थानीय विकासका लागि व्यक्तिहरुको भूमिका फरक हुन सक्छ तर दायित्व सबैमा समान हुने बताउँदै काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले, वडा विकासका कार्यक्रममा अपनत्व लिन वडाबासीलाई आग्रह गर्नुभएको छ । आइतबार आयोजना गरिएको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाइ र आर्थिक बर्ष २०८१/८२ को योजना तर्जुमा छलफल कार्यक्रममा वडाध्यक्ष संगतले अपनत्व नभएको विकास जोगाउन कठिन हुने बताउनुभयो ।

‘जिम्मेवारीका दृष्टिले जनप्रतिनिधिको भूमिका र स्थानीयको भूमिका फरक हुन सक्छ । यसो हुनु भनेको जनप्रतिनिधिको दायित्वले मात्र विकास निर्माण र व्यवस्थापन सम्भव छैन । सबैको साझा धारणा निर्माण गरेर सहभागितामूलक विकास पद्धति अबलम्बन गर्नुपर्छ । वडाले यसै मर्मबमोजिम योजना माग गर्ने, तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गरिरहेको छ ।’ वडाध्यक्ष संगतको भनाइ थियो ।  

पशुपति क्षेत्रमा प्रवेश गर्ने सवारी साधनका लागि वडाले अनुमति परिचय पत्र दिएको उल्लेख गर्दै उहाँले सर्वोच्च अदालतको आदेशपछि यस क्षेत्रमा कसैले पनि सवारी साधन लैजान नपाउने भएको बताउनुभयो । 

सुनुवाइ कार्यक्रममा स्थानीयले अपेक्षा गरेका मागका विषयमा कुरा गर्दै उहाँले, गुह्येश्वरी क्षेत्रमा डुवानको समस्या समाधान गर्न खोलामा जम्मा भएका फोहोर निकालेर पानीको सहज निकास बनाउने, पूर्वाधार निर्माणसहित स्वास्थ्य, शिक्षालगायत सेवाका लागि महानगरपालिकाको केन्द्र र अन्य निकायसँग समन्वय गर्ने बताउनुभयो । 

सुनुवाई कार्यक्रममा वडाबासी गुह्येश्वरी मन्दिरमा भक्तलाई ढोग्न नदिएको गुनासो गर्दै ढोग्न पाउनु पर्ने, गौशाला प्रहरी वृत्तपछाडि अझै पनि गाँजा प्रयोगकर्ताको संख्या घट्न नसकेकोले यसलाई नियन्त्रण गर्नुपर्ने, नदीबाट हुने डुवान, गुह्येश्वरीमा पुग्ने भिरालो बाटो मिलाइ दिनुपर्ने, सडक निर्माण गर्दा ढल प्रणालीलाई फराकिलो बनाउनु पर्ने, इटापाखामा रहेको ध्यान गर्ने कक्ष निर्माण गरिदिनुपर्ने, दुव्र्यसन नियन्त्रणका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।  

पाटी पौवाको पुननिर्माणसँगै संरक्षणमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सुनुवाई कार्यक्रममा स्थानीयबासीले स्थानीय शासन ऐनबमोजिमका कानुनी प्रबन्ध र पशुपति क्षेत्र विकास कोषले जारी गरेका निर्देशनको दोहोरो विधिबाट बाँधिएको बताउँदै वडा र कोषले गर्ने कामका बारेमा आफूहरुलाई शिक्षित गराउन अनुरोध गर्नुभएको थियो ।

तस्विर : सुजन तिमिल्सिना