वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
‘विकास निर्माण’ का योजनासँगै ‘विकास व्यवस्थापन’ गर्न वडाबासीको माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिनुभएको छ । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिनुभएको हो ।
कार्यक्रममा उहाँहरुले विकास तथा सेवा प्रवाहमा गरिएको अनुगमनको समीक्षा गर्नुपर्ने, वर्षौँदेखि प्रचलनमा आएका तर नक्सामा नभएका सडकहरुलाई नक्सामा उतार्नु पर्ने, खुला तथा सार्वजनिक ठाउँहरुको सुरक्षा गर्नु पर्ने, नदी किनाराका पार्कहरुमा व्यायामका लागि साधन तथा उपकरण जडान गरिदिनुपर्ने, मन्दिरहरुको नियमित सफाइ गर्नुपर्ने, छात्रवृत्ति दिन नसकिएका विद्यार्थीहरुलाई सहुलियत शिक्षा ऋण उपलब्ध गराउनु पर्ने, टुकुचा खोलालाई सुधार गरेर हिँड्न मिल्ने बनाउनु पर्ने, त्रिपुरेश्वर चोकलाई सुधार गरेर आकर्षक पानीको फोहोरासहितको स्थान बनाउनु पर्ने सुझाव प्राप्त भएका छन् ।
यस्तै सिपमूलक तालिम लिएकाहरु के गर्दैछन्? यसका लागि गरिएको लगानीको प्रतिफल प्राप्त भयो कि भएन, अनुगमन गर्नुपर्ने, सडक, किनारा र पार्कको सुन्दरता बढाउनु पर्ने, चित्र र मूर्तिकलाले सजावट गर्नुपर्ने, सुझाव आएका छन् ।
लक्षित वर्ग वर्गीकरण गरेर कुन कार्यक्रम कसका लागि हो, स्पष्ट पार्नु पर्ने, बालबालिकालाई चेस, वुद्धिचालजस्ता बौद्धिक खेलमा आकर्षित गराउनु पर्ने, एकल महिलाहरुका लागि कार्यक्रम तर्जुमा गर्नुपर्ने, पैदल मार्गको चौडाइ बढाउनु पर्ने उहाँहरुको माग छ ।
विश्व निकेतन विद्यालयमा सभा कक्ष निर्माण गर्नु पर्ने, विद्यालयसँगै नदी किनारमा रहेको जग्गामा खेल मैदान बनाउनु पर्ने, सुन्धारामा प्राचीन प्रवेश द्वार निर्माण गर्नुपर्ने, थापाथली क्षेत्रका बाँदरले मानिसलाई झम्टिने, सामान लुट्ने गरेका छन् । यी बाँदरलाई व्यवस्थापन गर्नु पर्ने, सामुदायिक कुकुरले दुःख दिए, व्यवस्थापन गर्नुपर्छ ।
वडामा भएका पार्क, सम्पदा मार्ग, मठ मन्दिरको संरक्षण र प्रवर्धन, जात्रापर्व सञ्चालन व्यवस्थापनमा लगानी वडावासीले अपेक्षा गरेका छन् ।
कार्यक्रममा सबैका कुरा सुनिसकेपछि बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘सबैले दिनुभएका सुझावलाई टिपोट गरेका छौँँ । कार्यक्रममा आउन नसकेको नागरिकहरुले समेत दैनिक जीवनमा भोगेका समस्या समाधान गर्ने कार्यक्रम बनाउनेछौँ ।’
‘वडालाई ४ भागमा बाँडेर वडा सदस्यहरुलाई हरेक १ क्षेत्रको जिम्मेवारी दिएर जनताका समस्या सुन्ने र समाधान गरिदिने जिम्मेवारी तोकेका छौँ ।’ कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘वडाको विकासका लागि महानगरपालिकाबाट प्राप्त भएको सबै रकम खर्च गर्न सकिएको छैन । महानगरसँगै संघ र प्रदेश सरकारबाट प्राप्त रकमबाट पनि काम गर्नु पर्नेछ । गुठी संस्थान र पुरातत्व विभागका कारण कतिपय योजना कार्यान्वयनमा जान सकेका छैनन् । उनीहरु आफूले पनि काम गरेका छैनन् । हामीलाई पनि गर्न दिँदैनन् ।’
कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, तहगत सरकारबिच समन्वय नहुँदा कति ठाउँमा योजना दोहोरिएको बताउनुभयो । यसमा अन्तरसम्बन्ध विकास गर्नुपर्छ ।
महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, सहर सफा राख्नु, निर्माण गर्न र व्यवस्थापन गर्न नीति, योजना र कार्यक्रम तर्जुमा गरिएको, कार्यान्वयनका लागि अपुग जनशक्ति श्रम वैङ्कबाट लिएर काम लगाइएको बताउनुभयो । यस्तै कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, नागरिकको सेवा वितरण र सहजताका लागि महानगरपालिकाले १५० वटाभन्दा धेरै कानुन निर्माण गरिसकेको जानकारी दिनुभयो । चालु आर्थिक बर्षबाट घर, समाज र टोलका विवाद मिलाउन न्याय संवादअन्तर्गत न्याय चौतारी कार्यक्रम कार्यान्वयनमा आएको उहाँको भनाइ थियो ।
वडा सचिव धर्मराज भट्टराईका अनुसार ढल निर्माण, पुननिर्माण, मर्मत र सरसफाइ, मठमन्दिरको मर्मत, सडक सुधार तथा व्यवस्थापन, सडक बत्तीका काम वडाले सम्पादन गरेका मुख्य काम हुन् । यस्तै सुत्केरी पार्क जस्ता ठूला योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ ।
आगामी बर्षको योजनामा समेट्नु पर्ने योजनाका सन्दर्भमा वडाबासीसँग लिखित योजना समेत माग गरिएको छ ।
त्रिपुरेश्वर, थापाथली, ववरमहल, माइतीघर मण्डला, सुन्धारा, भोटेबहाल, टेकु वडा नं. ११ का नाम चलेका ठाउँ हुन् । यस्तै दशरथ रंगशाला, नेपाली सेनाको मुख्यालय, सिंहदरबारजस्ता ठूला संरचना यसै वडामा पर्छन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App