वडा नं. १८ को आयोजनामा ६.६ किलोमिटर दौड प्रतियोगिता सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ आज ६ दशमलव ६ किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शााक्य र वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले दौड प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो । वडाध्यक्ष महर्जनकाअनुसार गणतन्त्र दिवस तथा स्थानीय सरकारको दोस्रो कार्यकालको २ वर्ष पूरा भएको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रकारका कार्यक्रमबाट सहरमा बढ्दै गएको निष्क्रिय जीवनशैलीलाई सक्रिय जीवनशैलीमा रुपान्तरण गर्न प्रोत्साहन हुने वडाध्यक्ष महर्जनको भनाइ छ ।
प्रतियोगिताबाट सन्दीप रजक प्रथम, सुनिस श्रेष्ठ द्वितीय, सजननरसिंह सुवाल तृतीय र क्रिष्टलनरसिंह सुवालले सान्त्वाना पुरस्कार प्राप्त गर्नुभयो । विजेता प्रथम र द्वितीयलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै तृतीय र सान्त्वानालाई ५/५ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।
पुष्पलाल पार्कबाट सुरु भएको दौड लुती (इन्द्रायणी मन्दिर), सोह्रखुट्टे, बालाजु पुल, चःमती नयाँ पुल, शोभा भगवती, डल्लु पुल, नयाँ पुल, रामघाट हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो ।