Logo
  • वि.सं.: २०८३, असर ४ बिहीबार

  • इ.स.: 2026 June 18,THRUSDAY

  • वि.सं.: २०८३, असर ४ बिहीबार

  • ‘सिप मेला’ का व्यवसायिक तालिमले 'दिगो विकास लक्ष्य'मा योगदान हुने युएनडीपीका उपआवासीय प्रतिनिधिको भनाइ 

    ‘सिप मेला’ का व्यवसायिक तालिमले 'दिगो विकास लक्ष्य'मा योगदान हुने युएनडीपीका उपआवासीय प्रतिनिधिको भनाइ 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ बाट प्रदान गरिएको व्यवसायिक तालिमले दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग हुने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्डले प्रतिक्रिया दिनुभएको छ । आज तालिमका कक्षाहरुको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

    मेलाका तालिमहरुले रोजगारी क्षेत्रका प्रमुख पेशाहरु समेटेको महसुस गरेको बताउँदै उहाँले, सिप विकास कार्यक्रमलाई नियमित सञ्चालन गर्न  आफूहरु साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । 

    व्यवसायिक तालिमसँग सरोकार राख्ने निकाय तथा संघसंस्थाहरुसँगको सहकार्यमा तालिमले क्रमशः उचाइ लिँदै गएको छ । प्रशिक्षार्थीले उत्पादन गरेको सामान तथा बस्तु तालिमको गुणस्तरका प्रमाण बनेको छन् । तालिमका विषयमा जानकारी गराउने क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘सहकार्यबाट नतिजा प्राप्त हुने क्षेत्रका लागि महानगरपालिका साझेदारसँग सँगै काम गर्न तयार छ ।’

    छलफलका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, बजारमा माग भएका सिपयुक्त जनशक्ति व्यवस्थापन गर्न महानगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । यस्तै आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, सामुदायिक विद्यालयका कक्षा ९ र १० मा सञ्चालन भएका ‘शिक्षामा सिप’ कार्यक्रमका बारेमा जानकारी दिँदै, माध्यमिक तह उत्तीर्ण गर्ने विद्यार्थीले कुनै न कुनै पेशासँग सम्बन्धित सिपमूलक तालिम प्राप्त गरिसकेको हुने गरी काम भइरहेको जानकारी गराउनुभयो । 

    दातृ तथा साझेदार निकायहरुसँग व्यवसायिक तालिम सम्बन्धी ज्ञान आदानप्रदान तथा सिपका सफल अभ्यासको प्रयोगमा सहकार्य गर्न सकिने अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले जानकारी दिनुभयो । 

    छलफलका क्रममा, तालिमबाट उत्पादन भएका जनशक्तिहरुलाई स्वरोजगार र रोजगारी क्षेत्रमा जोड्ने कार्यक्रम, व्यवसायिक तालिममा सिपसँगै व्यक्तिको व्यक्तित्व विकास, रोजगार क्षेत्रमा जाँदाका तयारी अभ्यासका विषयमा कुराकानी भएको थियो ।


     

  • प्रकाशित मिति बुधबार १६ जेठ २०८१ ०६:५७ PM