Logo

ताजा अपडेट

METRO FM

'सम्पदा पर्यटन' प्रवर्धन गर्न काठमाडौँ महानगरपालिका भित्रका मूर्त अमूर्त सम्पदा प्रदर्शन

'सम्पदा पर्यटन' प्रवर्धन गर्न काठमाडौँ महानगरपालिका भित्रका मूर्त अमूर्त सम्पदा प्रदर्शन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल इन्टरनेशनल टुरिजम एक्पोमा आफ्नो भौगोलिक क्षेत्रभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेको छ । शुक्रबार र शनिवार काठमाडौँको प्रदर्शनी स्थल, भृकुटी मण्डपमा जात्रा पर्वसँग सम्बन्धित बस्तु तथा सामग्री, मूर्ति, प्रतिमा र बिम्ब, कला र जीवनशैलीसँग सम्बन्धित जीवन्त प्रदर्शनी गरिएको थियो । सम्पदा पर्यटनका लागि सम्पदा तथा पर्यटन विभागले, सांस्कृतिक तथा ऐतिहासिक महत्व र सामाजिक पहिचानसँग जोडिएका वस्तु, स्थानसहित प्रदर्शनी गरेको हो । 

प्रदर्शनीका सन्दर्भमा संयुक्त शुभकामना दिँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, प्रदर्शनी गरिएका कलाकृति, फोटो, प्रदर्शन र कथालाई जीवन्त इतिहासको प्रमाणका रुपमा उधृत गर्दै, काठमाडौँको पहिचानलाई परिभाषित गर्ने सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक मूर्त अमूर्त सम्पदाका रोचक पक्ष प्रवर्धन गरेर राष्ट्रिय, अन्तरराष्ट्रिय पर्यटकलाई चाखलाग्दा ठाउँका विषयमा जानकारी प्राप्त हुने अपेक्षा गर्नुभएको छ । अनुपम महत्वका स्थल चिह्न, जीवन्त परम्परा र समृद्ध सांस्कृतिक पक्षका विषयमा दिइएका जानकारी तथा सूचनाले काठमाडौँलाई एक अद्वितीय र मनमोहक गन्तव्य बनाउने सहयोग पुगेको उहाँहरुको भनाइ छ । 

महानगरपालिकाले एक्पोका लागि नेपाल हस्तकला कला तथा शिल्प परिषदसँग सहकार्य गरेको थियो । प्रदर्शनीका लागि बाखं न्यने वा, नेपाल लिपि गुथी, जयश्री संगीत समाज, नेपा डान्स एकेडेमीसहितका संघ संस्थाले सहयोग गरेका छन् । क्युरेटरका रूपमा शैलजा कसजु, अञ्जली मेहेता र रोमुस तुलाधरले प्राविधिक सहयोग गर्नुभएको थियो । 

एक्पोले काठमाडौँका सम्पदाको गरिमा प्रवर्धन गर्ने अवसर प्रदान गरेको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले प्रतिक्रिया दिनुभयो । यस्तै सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले, महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडाः एक उद्यम’ कार्यक्रमअन्तर्गत शिल्पसँग सम्बन्धित सामग्री उत्पादनको जीवन्त प्रस्तृति गरिएको जानकारी दिनुभयो । 

महानगरपालिकाको प्रदर्शनी कक्षमा कलाकर रबी शाक्यले तयार पार्नुभएका जनबहाः् द्यःको रथ, काल भैरवको मूर्ति, हाथा द्यः र हात्जा हकेगु, वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रकलासँगै माटोका भाँडा बनाउने, प्रस्तरसहितका कला प्रदर्शनी गरिएको, सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रुजुमैयाँ प्रधानले जानकारी दिनुभयो ।  

प्रदर्शनीमा जीवन्त कला प्रदर्शन गर्ने क्रममा वडा नं. ५ बाट माटोको भाँडा तथा सेरमिक बस्तु, वडा नं. ८ बाट रुद्राक्षको ब्याग तथा बाटेको धूप, वडा नं. १२ बाट सुकुल बुन्ने, वडा नं. १४ बाट मकैको खोस्टाबाट फूल बनाउने सिप प्रस्तुत गरिएको थियो । यस्तै वडा नं. २१ बाट धातु कला बिथामा कतांकीको काम, नरःदे जीवन्त हाँडीगाउँ, इन्द्रजात्राको प्रवर्धनका लाग सचित्र मार्गचित्र प्रदर्शनमा राखिएको थियो । 

मौलिक  खानाहरु (समयबजी, परम्परागत पेय पदार्थ ऐला, यमरी) बनाउने, चिउरा कुट्ने क्रियाकलाप गरिएका थिए । 
उद्घाटन समारोहमा बाँसुरी बादन तथा काठमाडौँसहित ७ वटै प्रदेशको स्थानीय भेषभुषा, गहनासहितको नृत्य, प्रस्तुत गरिएको थियो । 

काठमाडौँका सम्पदालाई प्रविधिमैत्री बनाउन आर्टिफिसियल रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर), क्युक रेस्पोन्स (क्युआर), नियर फिल्ड कम्युनिकेसन (एनएफसी कार्ड) जस्ता प्रविधिको प्रयोग गरिएको थियो । यस कार्यका लागि संयुवा (सम्पदाका लागि युवा र बालबालिका) र नगर स्वयंसेवक परिचालन गरिएको थियो । 

आन्तरिक पर्यटन प्रवर्धनसँग सम्बन्धित अवधारणा, गन्तव्यसँग सम्बन्धित क्रियाकलाप प्रवर्धन गर्न एक्पो आयोजना गरिएको हो ।