हिँडेर स्वस्थ्य रहने संस्कृति बढाउँदै काठमाडौँ महानगरपालिका
काठमाडौँ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज राष्ट्रिय सभा गृहबाट वाकाथन गरिएको छ । स्वस्थ्य जीवनका लागि योग अभ्यास गराउने संघ संस्था, अभ्यास गर्ने व्यक्ति तथा प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रमसँग सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरु भेला भएर वाकाथन गरिएको हो ।
सहरमा हिँड्ने संस्कारको प्रवर्धन गर्नु पर्नेछ । यसले सहरी जीवनलाई सक्रियता प्रदान गर्नेछ । वाकाथनको शुभारम्भ गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘सुखी जीवनको पहिलो सर्त नै स्वस्थ्य रहनु हो । अप्राकृतिक जीवनशैलीले स्वास्थ्य सन्तुलन विगारेको छ । यसलाई योगले सुधार गर्न सक्छ । यसकारण हामीले योग अभ्यासलाई प्रोत्साहन गरेका छौँ ।’
आहार विहार, आचार विचारको सन्तुलन विग्रिएपछि सहरी जीवन अस्वस्थकर बन्दै गएको छ । शारीरिक निष्क्रियता र मानसिक तनाब सिर्जना हुन थालेको छ । यसबाट नसर्ने खालका रोगको जोखिम बढेको छ । हिँड्ने संस्कारबाट यो जोखिम घटाउन सकिन्छ भन्ने हाम्रो अपेक्षा हो । स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले धारणा राख्नुभयो ।
व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई योगले सन्तुलन राख्छ भन्ने मान्यता छ । व्यवहारिक रुपमा यो सिद्ध भएको छ । यसलाई सहरी जीवनशैलीसँग जोड्न खोजेका छौँ । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीको भनाइ छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१५ देखि हरेर बर्ष जुन २१ तारिखका दिन अन्तराष्टिय योग दिवस मनाइँदै आएको छ ।
महानगरपालिकाले आरोग्य जीवन कार्यक्रमअन्तर्गत क्रियाशील योग केन्द्रका प्रशिक्षकहरुलाई क्षमता विकास तालिम सम्पन्न गरिएको छ । यस्तै स्वास्थ्य परीक्षण परामर्श तथा सामग्री वितरण, सामुदायिक विद्यालयका योग शिक्षकहरुलाई तालिम, व्यायाम प्रशिक्षकहरुलाई प्रशिक्षण दिइएको छ ।