Logo
  • वि.सं.: २०८३, जेठ २० बुधबार

  • इ.स.: 2026 June 3,WEDNESDAY

  • वि.सं.: २०८३, जेठ २० बुधबार

  • छात्रवृत्ति छनोटका ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन : विवरण सच्याउन निवेदन दिने विद्यार्थीको संख्या ९६ जना 

    ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि विहान सम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ

    काठमाडौँ । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् । १७ गते सम्पन्न परीक्षाको १८ गते विहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरुले आवेदन दिएका हुन् । 

    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिनुभएको छ । यसै गरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गर्नुभएको खड्काले जानकारी दिनुभयो । 

    केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिनुभएको छ । समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन । 

    विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि विहान सम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । उहाँ भन्नुहुन्छ, ‘हामी पुनर्योगको प्रक्रियामा छौँ । विगत वर्षहरुमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन । ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकोले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ ।’

    यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

  • प्रकाशित मिति बुधबार २० जेठ २०८३ ०७:०५ PM