वि.सं.: २०८२, मंसिर २४ बुधबार
इ.स.: 2025 December 10,WEDNESDAY
वि.सं.: २०८२, मंसिर २४ बुधबार
'जानी नजानी मर्मत सम्भारका क्रममा भएका त्रुटि सच्याउन लागेका हौँ' - वडाध्यक्ष, महर्जन
काठमाडौँ । भौतिक सम्पदा स्थलहरुको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड््याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् । ‘यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छाना लगायत विभिन्न ठाउँमा भएका छन् । जानी नजानी गरिएका यस्ता त्रुटि सच्याउनका लागि काम थालिएको हो ।’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिनुभयो ।
महर्जनका अनुसार वडाभित्र किराँतकाल, लिच्छवीकालदेखिका भौतिक सिर्जनाहरु छन् । मन्दिर, चिबहा जस्ता हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित ८० वटा सम्पदा छन् । जीवित देवी श्रीकुमारीको निवास स्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन् । यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहितका धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन् । उहाँ थप्दै भन्नुहुन्छ, ‘पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मतसम्भार गर्छौँ । हराएका वा जीर्ण भएका कारण हटाइएका बस्तु, सामग्री पुनस्थापना र संरचना भए पुननिर्माण गराउँछौँ ।’
‘अहिले वडाले प्राविधिक र स्थानीयको सहयोगमा कुन ठाउँमा के भएको छ? त्यसको पुनःस्थापनाका लागि कस्ता बस्तु तथा सामग्री चाहिन्छन्? लागत अनुमान कति हुन्छ? अध्ययन गरिरहेको छ । यसबाट प्राप्त तथ्यका आधारमा पुनरुत्थान, नियमित मर्मत सम्भार तथा संरक्षण र दिगोपनाका लागि बजेटको व्यवस्था गर्छौँ ।’ महर्जनले योजना सुनाउनुभयो ।
वडाले थालेको यो कामको प्रशंशा गर्दै स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भन्नुहुन्छ, ‘पुरिएर आधा संरचना भएका चिवहाःलाई वडाले वास्तविक स्वरुपमा फर्काएर घुम्ने ठाउँ, पूजाआजा गर्ने ठाउँ बनाइदिएको छ । यसले केवल भौतिक संरचनाको मौलिकपन मात्र फर्काएको छैन, धार्मिक आस्था र सामाजिक जीवनमा प्राण समेत भरेको छ ।’
वडाभित्र ४ हजार ६ सय मतदाता हुनुहुन्छ । करिब ७ हजार व्यक्तिहरु अस्थायी बसोबास गरिरहनुभएको छ । वडाभित्र १ हजार ९३७ घर संख्या रहेको छ । ९ वटा परम्परागत गुथि वडामा सूचीकृत छन् । यी गुथिहरु कुनै न कुनै रुपमा श्रमसँग जोडिएका छन् ।
वडाबाट चल्ने सबैभन्दा ठुलो जात्रा, येँःया (इन्द्रजात्रा) हो । यसबाहेक वडाबासीहरुले पाहाँचह्रे, सकीमिला पुन्ही, यमरी पुन्ही, चथा (गणेश चतुर्दशी), गुँला, यंलासहितका संस्कार मनाउँछन् । गुंला पर्वमा स्वयम्भू जाने चलन छ । वडाध्यक्ष महर्जनका अनुसार यंला महिनामा (थने) माथिल्लो टोलका स्थानीयहरु आफ्नाआफ्ना पीठमा, दथु टोल (मध्य सहरका स्थानीय) ल्हुति र म्हेपिमा र कोने (तल्लो टोल) का मानिसहरु पचली भैरव जाने चलन छ ।
भौतिक सम्पदाको पुनरुत्थानले सामाजिक प्रचलनका सम्बन्धहरुलाई दिगो बनाउने वडाको अपेक्षा छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App