सूचना प्रविधि समितिका पदाधिकारीबाट सञ्चार प्रविधि कक्षहरुको निरीक्षण
काठमाडौँ । सूचना प्रविधि समितिका पदाधिकारीले आज काठमाडौँ महानगरको सूचना प्रविधिसँग सम्बन्धित कक्षहरुको निरीक्षण गर्नुभएको छ । समितिका संयोजक नविन मानन्धरको अध्यक्षतामा पहिलो बैठक बसेपछि मेट्रो एफ. एम. ९४ विन्दु ६ मेगाहर्जको स्टूडियो, पत्रकार तथा सञ्चारकर्मी बस्ने ठाउँ, सूचना प्रविधिको प्राविधिक कक्ष, कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) को निरीक्षण गरेर कार्यप्रणालीका विषयमा जानकारी लिनुभएको हो ।
त्यस क्रममा संयोजक मानन्धरले, सूचना प्रविधिको उच्चतम प्रयोगबाट महानगरबासीसँग महानगरको सम्बन्ध नजिक बनाउनु पर्ने बताउनुभयो । ‘महानगरको चुस्त सेवाका लागि प्रविधि र जानकारी तथा ज्ञानका लागि सञ्चारको सक्रियता जरुरी छ । यसको प्रयोगलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।’ संयोजक मानन्धरको भनाइ थियो ।
त्यस क्रममा समितिका सदस्य तथा वडा २९ का अध्यक्ष कुश ढकालले, नागरिक महानगरका सेवा र कानुनबमोजिमका शुल्क सम्बन्धी जानकारी हरेकले मोवाइलमा हेर्न सक्ने बनाउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सेवाप्रवाहमा सेवाग्राहीलाई कहीँ पनि शंका हुनुहुँदैन । ढकालको भनाइ थियो ।
बैठकमा समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले, विभागबाट आगामी बर्षका लागि प्रस्तावका रुपमा तयार पारेका नीतिका बुँदाहरु, बजेट तथा कार्यक्रमको मस्यौदा सम्बन्धी जानकारी गराउनुभएको थियो । ‘पहिलो बैठक भएकोले यसमा थोरै मात्र प्रस्ताव थिए । परिचयात्मक कार्यक्रम र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा बढी छलफल भयो ।’ सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।
वडा १७ का अध्यक्ष नविन मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, १९ का अध्यक्ष राजेश श्रेष्ठ र २९ का अध्यक्ष कुश ढकाल हुनुहुन्छ । कार्यपालिका अन्तर्गतका समितिहरुमा विभागीय प्रमुख सदस्य रहने व्यवस्था छ ।